भैरहवा । लामो समयदेखि प्रतिक्षा गरिएको बेलहियास्थित नेपाल–भारतको संयुक्त भन्सार जाँच चौकीको निर्माणकार्यले अहिले बल्ल तीब्रता पाएको छ । दुवैतर्फका निर्माण कम्पनीले अहिले निर्माण कार्यलाई तीब्रता दिएका छन् ।
बेलहियामा बनिरहेको आधनिक एकीकृत भन्सार जाँच चौकीको बुधबार पूर्वउपप्रधान तथा अर्थमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले निरीक्षण गर्नु भएको छ । नेता पौडेलसहित यसक्षेत्रका सरोकारवालाहरुले संयुक्त रुपमा एकीकृत भन्सार जाँच चौकी (आइसीपी) क्षेत्रको अवलोकन तथा निरीक्षण गरेका थिए । त्यसक्रममा नेता पौडेलले अब छिटो र गुणस्तरीय काम होस् भन्ने सबैको चाहना रहेकाले सोहीअनुरुप काम गर्न आग्रह गर्नुभयो ।
आयात–निर्यातलाई एकद्वार प्रणालीमा ल्याएर सबै सेवा एकै स्थानबाट उपलब्ध गराउने उद्देश्य आइसीपीको हो । बेलहिया, वीरगञ्ज, विराटनगर र नेपालगञ्जजस्ता चल्तीका नाकामा एकीकृत भन्सार जाँच चौकी निर्माण हुने हो । ५ दशमलव ११ हेक्टरमा फैलिएको आइसीपीमा आयाततर्फ छ सय ९२ र निर्याततर्फ दुई सय ७० सम्म ट्रक पार्किङ गर्न मिल्ने छ ।
आइसीपी निर्माणले भन्सारसँग सम्बन्धित सबै निकाय एउटै छानामुनि हुने हुँदा निकासी र पैठारी दुवैमा सहज हुने विश्वास लिइएको छ । यसको साथसाथै व्यापारिक लागतसमेत घट्ने, मालबाहक गाडी लामो जाममा बस्न नपर्ने, हालभन्दा छिटो र सहजरुपमा सेवा प्रदान गर्न सकिनेलगायत अन्य काममा पनि सहज हुने उद्योग वाणिज्य बुटवलका उद्योग उपाध्यक्ष सुरज भट्टराईले बताउनुभयो ।
महत्वपूर्ण आयोजनाका रुपमा रहेको आइसीपी छिटो र गुणस्तरीय बनोस् भन्ने कुरामा आफूहरुको चासो रहेको नेता पौडेलको भनाइ छ । उहाँले यो आइसीपी बनाउनका लागि धेरै पहिलादेखि नै कुरा चलिरहे पनि पूर्णता नपाउँदा खिन्नता बनाएको उल्लेख गर्नुभयो । दुई देशका बिचमा सहमति भएको तर जमिनको प्रबन्धका कारण आयोजना निर्माणमा ढिलाई भइरहेको थियो । आइसीपीलाई नेपालले निर्यात प्रवद्र्धनमा केन्द्रित गर्नुपर्ने उहाँको भनाइ छ ।
‘आइसीपी निर्माण प्रगतिबारे जानकारी लिइयो, केही समस्याहरु भयो भने सिडियो साबले कोर्डिनेशन गरिहाल्नुहुन्छ । खासगरी अलि निर्माण सामग्रीको समस्या देखियो,’ उहाँले भन्नुभयो । रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका पौडेलले बिचमा आइसीपी निर्माणमा केही अवरोध आएको र त्यसलाई हटाइएको बताउनुभयो । ‘छिटो काम सुरु गर्नका निम्ति हामीले पनि इनिशियसन लिएका थियौं,’ उहाँले भन्नुभयो ।
नेता पौडेलले आइसीपी दुई देशबीचको व्यवसायिक कारोबार तथा व्यापारका लागि अत्यन्तै महत्वपूर्ण मानिने बताउनुभयो । उहाँले आइसीपीको प्रयोग विभिन्न ठाउँमा हुन लागेको बताउनुभयो । आइसीपी निर्माणले भन्सार प्रणाली, व्यवसाय र प्रशासनिक संयन्त्रलाई पनि सहज हुने पौडेलले बताउनुभयो ।
नेता पौडेलसंगै रुपन्देहीका अर्का प्रतिनिधिसभाका सांसद बासुदेव घिमिरे, प्रदेशसभाका सांसदहरु भोजप्रसाद श्रेष्ठ, एमालेका प्रदेश सभाका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीलगायतका नेताहरुले पनि आयोजनाको निरीक्षण गरेका थिए ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पूर्वमन्त्रीको उपस्थितिमा आइसीपीको संयुक्त अनुगमन गरिएको बताउनुभयो । उहाँले परियोजना व्यवस्थापनले दिएको जानकारीअनुसार यो परियोजना निर्माण कार्य सन्तोषजनक अवस्था रहेको बताउनुभयो ।
प्रजिअ अर्यालले भन्नुभयो, ‘मूलतः करिब ३० प्रतिशत हाराहारीमा भौतिक प्रगति रहेको प्रस्तुति रह्यो । त्यो भनेको आफँैमा नराम्रो होइन । त्यसमा सबै सरोकारवालाहरुले परियोजनाले सहयोग गर्ने र निर्माण कार्यलाई दु्रत गतिले अगाडि बढाउने सहमति भएको छ ।’
सुरुमा निर्माण सामग्रीको उपलब्धता भएन भन्ने समस्या आफूहरुसँग आएको र स्थानीय पालिकाहरुसँग छलफल तथा संवाद गरिएको उनले बताए । उहाँले भन्नुभयो, ‘कतिपय सन्दर्भमा सहजीकरण गरेर निर्माण सामग्रीसँग सम्बन्धित समस्या समाधान गरेका छौं । मलाई लाग्छ अब यो परियोजनामा निर्माण सामग्रीसँग सम्बन्धित समस्या रहँदैन ।’ नेपाल–भारतबिचको व्यापारलाई सहजीकरण गरी दुई देशबीच आयात निर्यातमा सहजता ल्याउने उद्देश्यले आइसीपी निर्माणको सम्झौता भएको थियो ।
करिब १५ वर्षअघि नै नेपालतर्फ जग्गा अधिग्रहण गरिए पनि लामो समय आइसीपी निर्माणको काम अगाडि बढ्न सकेको थिएन । भारततर्फ जग्गाको कुरा नमिलेपछि आइसीपी निर्माणमा ढिलाई भइरहेको थियो । भैरहवा भन्सार कार्यालयभन्दा करिब डेढ किलोमिटर पश्चिमतर्फ भारतीय भूमि भारतले अधिग्रहण गरेपछि अहिले दुवैतर्फ आइसीपीको निर्माणले तीव्रता पाएको हो ।
आयात–निर्यातलाई एकद्वार प्रणालीमा ल्याएर सबै सेवा एकै स्थानबाट उपलब्ध गराउने उद्देश्य आइसीपीको हो । वीरगञ्ज, विराटनगर, भैरहवा र नेपालगञ्जजस्ता चल्तीका नाकामा एकीकृत भन्सार जाँच चौकी निर्माण हुनेछन् । यीमध्ये वीरगञ्ज र विराटनगरमा आइसीपी निर्माण भई सञ्चालनमा आइसकेका छन् भने नेपालगञ्ज र भैरहवामा निर्माणाधीन अवस्थामा छन् ।
आइसीपीमा अत्याधुनिक स्क्यानर जडान हुने भएकाले भन्सारमा हुने भएको राजस्व छली र एउटै प्रज्ञापनद्वारा धेरै सामान आयात गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सकिन्छ । सबै आइसीपी भारतले नै बनाएर नेपाललाई हस्तान्तरण गर्ने जनाइएको छ ।
भैरहवामा निर्माण गर्न भारतले भारतीय निर्माण कम्पनी केएसएम वसिर मोहम्मद एन्ड सन्स, लखनउले भारु एक अर्ब ६१ करोड ७६ लाखमा निर्माणको काम पाएको हो । सम्झौता भएको दुई वर्षभित्र निर्माणको काम सम्पन्न गरी नेपाली पक्षलाई बुझाउने गरी सम्झौता भएको छ । ३५ दशमलव ११ हेक्टरमा फैलिएको आइसीपीमा आयात तर्फ छ सय ९२ र निर्याततर्फ दुई सय ७० गरी एक हजार ट्रक पार्किङ्ग गर्न मिल्नेगरी संरचना तयार हुनेछन् ।