बुटवल । लुम्बिनी प्रदेश सरकारले आफ्नो स्थापना दिवस आज आइतबार विभिन्न कार्यक्रम गरी मनाउँदै छ । स्थापना दिवसको अवसर पारेर आइतबार लुम्बिनी प्रदेशभर सार्वजनिक विदासमेत दिइएको छ । विगत वर्षहरुमा प्रदेश सरकार गठन भएको फागुन ३ लाई आधार मानेर स्थापना दिवस मनाइँदै आए पनि यो वर्षदेखि प्रदेशसभा स्थापनाको दिवसलाई आधार मानेर स्थापना दिवस मनाउन सुरु गरिएको हो ।
यसवर्ष पनि दिवसका सन्दर्भमा विभिन्न कार्यक्रमहरू हुँदैछन् । प्रदेश गृह मन्त्रालयका सचिव लालबाबु कवारीले स्थापना दिवसको अवसरमा शुक्रवार प्रदेशसभा र प्रदेशसरकारबिच मैत्रीपूर्ण भलिबल प्रतियोगिता हुने बताउनुभयो । गृह मन्त्रालय र प्रदेश खेलकुद परिषद्को संयुक्त आयोजनामा आइतबार बिहान ८ बजेदेखि राजधानी राप्ती उपत्यकाको भालुवाङदेखि देउखुरी प्रशासनिक परिसरसम्म ५ किलोमिटरको दौड प्रतियोगिता आयोजनासमेत आयोजना गरिएको छ ।
सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष पाण्डेयले भने प्रदेश स्थापना दिवस र सरकारको स्थापना दिवस एकै दिन मनाउनका लागि २१ गते बनाइएको बताउनुभयो । तर, प्रमुख प्रतिपक्ष नेकपा एमालेले स्थापना दिवसको मिति सारेको भन्दै अपत्ति जनाएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले प्रदेश सरकारले मनमौजी तरिकाले इतिहास मेट्ने काम गरेको र ससदहरुलाई पनि बिनाजानकारी मिति तय गरेको बताउनुभयो ।