बुटवल । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्री पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज मनाइँदैछ ।
सिद्धबाबा मन्दिरमा महाशिवरात्रीको अवसरमा दर्शन गर्न जाने भक्तजनको लागि सहज व्यवस्था मिलाइएको छ । पाल्पाको तिनाउ–३ स्थित मन्दिरमा दर्शन गर्न जाने भक्तजनले टोकनको सुविधा मिलाइएको छ भने दर्शन गर्न जानेको लागि बुटवलका विभिन्न ठाउँमा ५ वटा बसको व्यवस्था मिलाइएको छ ।
शिवरात्रीको अवसर पारेर मन्दिरलाई चिटिक्क सिँगारिएको छ । भक्तजनहरूलाई दर्शनका लागि बिहान साढे ३ बजेदेखि नै मूल मन्दिर खुला गरिएको र भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको मन्दिर विकास विकास समितिका अध्यक्ष सन्तोषकुमार शेरचनले जानकारी दिनुभयो ।
भक्तजनलाई जान आउनदेखि दर्शन तथा पूजापाठ गर्नसम्मका लागि सम्पूर्ण तयारी गरिएको छ । पूजा व्यवस्थापनका लागि गत वर्षमा भक्तजनलाई लाइनमा राखेर व्यवस्थापन गरिँदै आएकोमा यसवर्षदेखि टोकन लिएर पूजा गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।
वृद्धवृद्धा, अशक्त, असाहयहरुले भने सिधैं मूल मन्दिरमा गएर पूजा गर्न सक्नेछन् । महाशिवरात्रीको अवसरमा शिव पूजन, रुद्राभिषेक पूजा, अखण्ड हरिकीर्तन, भजन प्रतियोगिताकोसमेत आयोजना गरिएको अध्यक्ष शेरचनले बताउनुभयो ।
दर्शनार्थीहरुको सुरक्षाका लागि ३० जना सुरक्षाकर्मी, स्वंयसेवक र सिसी क्यामेराले निरन्तर निगरानी गर्ने उहाँले बताउनुभयो । गतवर्षको शिवरात्रीमा ३० हजार बढी भक्तजनले दर्शन गरेको बताउँदै यो वर्ष ४० हजार बढी भक्तजन भित्र्याउने गरी तयारी गरिएको समितिका अध्यक्ष शेरचनले बताउनुभयो । सिद्धबाबालाई पश्चिम नेपालकै पशुपतिका रुपमा विकास गर्ने गरी काम भइरहेको उहाँको भनाइ थियो ।
बुटवलको योगीकुटी, कालिकानगर, अस्पताल लाइन, ट्राफिक चोक र गोलपार्कबाट बस छुट्नेछन् । भक्तजनलाई दिनभर यातायात सेवा उपलब्ध गराउने मन्दिरका सदस्य तोया लम्सालले बताउनुभयो ।
शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वर्णित छ ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन–दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा लिइन्छ । माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झार उनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्व) ले गर्दा पलाउन थाल्ने हुनाले फागुनमा शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ ।
व्रतमध्ये सर्वोत्तम महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजार्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।