काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का १० जना पदाधिकारी वैदेशिक भ्रमण गएकामा आपत्ति जनाएको छ ।
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ को ‘झ’मा राष्ट्रिय खेलकुद परिषद् (राखेप)को स्वीकृति लिनुपर्नेमा व्यवस्था भएबमोजिम एन्फाले सो प्रक्रिया पूरा नगरी विदेश गएकाले मन्त्रालयले एन्फालाई कारबाही गर्ने राखेपलाई निर्देशन दिएको हो ।
विश्वकप छनोटको तयारीमा रहेको नेपालले आगामी चैत २ मा मलेसियाविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । त्यसपछि नेपाली टोलीले आगामी चैत ८ र १३ गते बहराइनसँग ‘होम एन्ड अवे’का दुई खेल खेल्दैछ । उक्त खेलका लागि नेपाली टोलीसहित एन्फाका १० पदाधिकारी ‘अफिसियल’ बनेर मलेसिया गएका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको मैदान खराब भएपछि नेपालले होम र अवे खेल बहराइनमा खेल्न लागेको हो । राखेपको स्वीकृति पश्चात् मात्र खेल सङ्घका पदाधिकारीहरुलाई अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता, तालिम, गोष्ठी, सेमिनार वा सम्मेलन भाग लिन वैदेशिक प्रस्थान अनुमति प्रदान गर्ने व्यवस्थाका लागि गृह मन्त्रालयलाई अनुरोध गरिएको युवा तथा मन्त्रालयद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
एन्फाले मंगलवार खेलाडीबाहेक प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिस, सहायक प्रशिक्षक प्रवेश कटुवाल, गोलरक्षक प्रशिक्षकद्वय विनोद डंगोल र मनीष तिम्सिना, टोली ब्यवस्थापक उत्तमराज भण्डारी, फिजियो लोकेन्द्र कुँवर, किट ब्यवस्थापकमा ज्ञानबहादुर राई, टोली प्रुमखमा उपाध्यक्ष दीपक खतिवडा, एन्फा सदस्य महेन्द्र क्षेत्री, सीईओ इन्द्रमान तुलाधर, एन्फा जिल्ला सदस्यहरु भरत घिमिरे, बुद्धिबहादुर गुरुङ, सुनील लोप्चन, जयकृष्ण श्रेष्ठ, प्रवीण श्रेष्ठ र सुविनकुमार श्रेष्ठलाई मलेशिया भ्रमणमा पठाएको थियो।