भैरहवा । रुपन्देहीका विभिन्न स्थानमा सर्वसाधरणको मोबाइल लुटपाटमा संलग्न आरोपित समूह पक्राउ परेको छ । विभिन्न स्थानबाट मोबाइल लुटेर भाग्ने गरेको सर्वसाधरणले जानकारी गराएपछि जिल्ला प्रहरीबाट खटिएको टोलीले बुधबार उक्त समूहलाई पक्राउ गरेको थियो । जिल्ला प्रहरीले बिहीबार कार्यालयम पत्रकार सम्मेलन गरेर पक्राउ व्यक्ति, बरामद मोटरसाइकल र मोबाइल सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी मनोहरप्रसाद भट्टले पक्राउ परेकाहरुविरुद्ध चोरी तथा डाँका कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान कार्यका लागि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको जानकारी दिनुभयो । डिएसपी भट्टका अनुसार पक्राउ परेका व्यक्तिले आफ्नै घर आसपास वा बजार क्षेत्रमा उभिएका सर्वसाधरणसित जरुरी काम परेको छ भन्दै मोबाइल मागेर माग्ने गरेका थिए । केही स्थानमा ती व्यक्तिले मोटरसाइकलबाटै मोबाइल लुटेर भाग्ने गरेको अनुसन्धानबाट खुलेको डिएसपी भट्टले बताए । लुटेका मोबाइल पसलमा लगेर बिक्री गरेर आएको पैसाले लागूऔषध खरिद गरेर सेवन गर्ने गरेको खुलेको उहाँले बताउनुभयो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा रुपन्देहीको सिद्धार्थनगर ७ का २५ वर्षीय मनिष हरिजन, २४ वर्षीय देवान गुरुङ, सिद्धार्थनगर १३ का २४ वर्षीय रोमन घर्ती र सियारी–३ का ३१ वर्षीय मोहम्मद रसिद मुसलमान रहेका छन् । उनीहरुमध्ये मोटरसाइकल चालक हरिजनविरुद्ध २०७१ सालमा अभद्र व्यवहार र घर्ती लागूऔषध मुद्दामा एक वर्ष कैद भुक्तान गरिसकेका व्यक्ति रहेको प्रहरीले जनाएको छ । उनीहरुबाट लु ५६ प ७१७ नम्बरको मोटरसाइकल र ८ थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।