बुटवल । सुन तस्करी र सुप्रिम सहकारीमा बचतकर्ताको रकम अनियमितता गरेको आरोपमा पक्राउ गरी रूपन्देही ल्याइएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई ८ दिनको म्याद दिएर अनुसन्धानको लागि प्रहरीलाई अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत, रुपन्देहीले पुनलाई एक साता हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख एसपी रञ्जित राठोरले जानकारी दिनुभयो । दिपेशसँग सहकारीको रकम हिनामिनाको जोडिएर पोखराको सूर्यदर्शन सहकारीका सञ्चालक कुमार रम्तेल र आइटी प्रमुख भविश्वर अर्यालसँगको बयानका आधारमा प्रहरी केन्द्रीय कार्यालयले शुक्रबार काठमाडौंबाट पुनलाई पक्राउ गरेको थियो । रम्तेल र आइटी प्रमुख भविश्वर अर्याललाई पनि अनुसन्धानको लागि प्रहरीले रूपन्देही झिकाएर अनुसन्धान अघि बढाइएको छ ।
बुटवलको राजमार्ग चौराहास्थित सुप्रिम सहकारीको एक अर्ब रुपैयाँभन्दा बढी अपचलन गरेको आरोपमा सुप्रिम सहकारीका हालका अध्यक्ष ओमप्रकाश गुरूङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाई पाण्डे यसअघि नैं पक्राउ परिसकेका छन् । सहकारीका ५ जनालाई पक्राउ गरी गम्भीर ढंगबाट प्रहरीले अनुसन्धानलाई अघि बढाएको एसपी राठोरले बताउनुभयो
गितेन्द्रबाबु (जीबी) राईले बुटवलमा सञ्चालन गरेको सुप्रिम सहकारीले ठगी गरेको भन्दै बचतकर्ताले यसअघि नैं निवेदन दिएका थिए । जिल्ला प्रहरी कार्यालयमा सहकारी सञ्चालकले १० हजार ३९१ जना बचतकर्ताको १ अर्ब ७ करोड ८२ लाख ६७ हजार ७२९ रुपैयाँ अपचलन गरेको उजुरी परेको छ ।
बुटवलमा वि.सं. २०५७ सालमा दर्ता भएर सञ्चालनमा रहेको मैत्रेय बचत तथा ऋण सहकारी संस्थाको नाम परिवर्तन गरेर वि.सं.२०७२ फागुनदेखि सुप्रिम बचत तथा ऋण सहकारी संस्था बनाइएको थियो ।