बुटवल । माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । सुन तस्करी प्रकरणको अनुसन्धानमा लागि महरालाई कपिलवस्तुको पकडीबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
आइतबार मात्र गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका सबै जनामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीलाई निर्देशन दिनुभएको थियो ।
सुन तस्करीको जाँचबुझ गर्न गठित आयोगले बुझाएको प्रतिवेदनअनुसार आरोपितहरूलाई कारबाही गर्न उपप्रधान गृहमन्त्री लामिछानेले प्रहरीको सीआईबीलाई निर्देशन दिनुभएको हो । जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरी तत्काल नतिजा आउने कारबाही गर्न लामिछानेले आइतबार गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र सीआईबी प्रमुख एआईजी श्याम ज्ञवालीलाई निर्देशन दिनुभएको थियो ।
साउन २ मा ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो र २०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याइएको ९ किलो सुन तस्करीमा पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, छोरा राहुल, पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन र परराष्ट्रविज्ञ जीवन गुरुङसहित मुछिएका थिए । उनीहरूलाई प्रहरीले उन्मुक्ति दिएको भन्दै सञ्चारमाध्यममा निरन्तर समाचार प्रकाशित भएपछि सत्यतथ्य जाँचबुझ गर्न संसद्मा माग उठेको थियो ।
पूर्वसभामुख महराका छोरा राहुललाई सीआईबीले गत भदौ १३ गते पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग महरा बाबुछोराको पटक–पटक टेलिफोन संवाद भएको सरकारी अनुसन्धानबाटै पुष्टि भइसकेको छ । चिनियाँ तस्कर र उसको समूहसँग बाबुछोराले २ सय ५६ पटक फोन सम्पर्क गरेको खुलिसकेको छ ।