बुटवल। जितेश्वरी दुर्गा शिव पाञ्चायन मन्दिर बुटवल–१३ जितगढीले सञ्चालन गरेको शिवपुराण ज्ञानमहायज्ञको आम्दामी खर्च सार्वजनिक गरेको छ । गएको फागुन १५ गतेदेखि १० दिन चलेको महायज्ञको आय/व्यय सार्वजनिक गरेको हो । बिहीबार एक कार्यक्रम राखेर मन्दिरका कोषाध्यक्ष नारायण खनालले आय÷व्यय प्रस्तुत गर्नुभयो ।
महायज्ञमा आम्दामी २२ लाख १५ हजार ९६६ रुपैयाँ, खर्च १५ लाख ८८ हजार ७०४ रूपैयाँ खर्च र बचत ६ लाख २७ हजार २९२ भएको ज्ञानमहायज्ञका अध्यक्ष ताराप्रसाद गौडेलले जानकारी दिनुभयो । उठ्न बाँकी ७ लाख ९६ हजार ६८८ रहेको गौडेलको भनाइ छ । मन्दिरका दुईवटा गेट बनाउन महापुराण गरिएको मन्दिरका अध्यक्ष बालकृष्ण गैरेले जानकारी दिनुभयो । मन्दिरले गत वर्ष पनि ज्ञान महायज्ञ गरेको थियो । सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिका वडा सदस्य मन्दिरादेवी गौडेलले मन्दिरको विकास र संरक्षणको लागि नगरपालिकाबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा महायज्ञ प्रचारप्रसार संयोजक ऋषि आजाद, मन्दिरका अध्यक्ष बालकृष्ण गैरे, बेलबास कुलाई समितिका उपाध्यक्ष पूर्वबहादुर कार्की, यज्ञ अनुगमन संयोजक नारायण पौडेल, जितगढी आमा समूहकी अध्यक्ष कमला पाण्डेलगायतले बोल्नुभएको थियो । कार्यक्रम उपाध्यक्ष मोहनप्रसाद गौडेलको स्वागत तथा सचिव नारायणप्रसाद खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।