भैरहवा । सशस्त्र प्रहरी बलले मंगलबार बिहान रुपन्देहीको ओमसतिया गाउँपालिका–४, बाट दुई सय ७२ किलोग्राम गाँजा बरामद गरेको छ । मोटरसाइकल आयात गर्ने यूपी ७८ बीटी ८२९७ नम्बरको टाटा कन्टेनरमा लुकाई छिपाइ भारत लैजान लागेको अवस्थामा भैरहवाको डण्डा पुल नजिकैबाट उक्त गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गणले जनाएको छ ।
सशस्त्र प्रहरी केन्द्रिय अनुसन्धान ब्युरोको बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण, रुपन्देहीबाट खटिएको टोलिले उक्त गाँजा बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापाले बताउनुभयो ।
कन्टेनरमा लुकाई छिपाइ भारत लैजान लागेको अवस्थामा भैरहवाको डण्डा पुल नजिकैबाट गाँजा बरामद गरिएको उहाँले बताउनुभयो । कन्टेनरको चालकसिट भन्दा माथिको फल्स बटमभित्र लुकाएको अवस्थामा गाँजा बरामद गरिएको थियो । शसस्त्र प्रहरीले भारतको पन्जावस्थित लुधियाना नम्बर १० भावदीप सिंहनगनर बस्ने चालक सतनाम सिंहलाई नियन्त्रणमा लिएको छ । चालकबाट एउटा नेपालको एनसेल र भारतीय एयरटेल कम्पनीको सिमसमेत बरामद गरिएको छ ।
प्रारम्भिक अनुसन्धानमा चालक सिंहले चितवनको नारायणगढभन्दा १० किलोमिटर पश्चिम पूर्वपश्चिम राजमार्गमा ट्रक अलपत्र पारेर चालक भागेको जानकारी पाएपछि आफू लिन गएको बताएका छन् । सशस्त्र प्रहरीले आवश्यक कानुनी पक्रिया पूरा गरेर थप अनुसन्धानका लागि बरामद गाँजा, कन्टेनर र चालक नेपाल प्रहरीको जिम्मा लगाउने जनाएको छ ।