काठमाडौं । कोरोना भाइरस संक्रमितको परीक्षण तथा उपचार गर्ने दायित्वबाट सरकार पछि हटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको निर्णयअनुसार अब अग्रपंक्तिमा खटिएकाहरूको परीक्षण र उपचार मात्रै सरकारले गर्ने भएको हो । अरू नागरिकहरूले आफ्नै खर्चमा कोरोना परीक्षण र उपचार गर्नुपर्नेछ । तर, विपन्न वर्ग तथा अति अशक्तको कोरोना परीक्षण तथा उपचार भने सरकारले गर्ने मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । यसअघि सरकारले कोरोना संक्रमितको निःशुल्क परीक्षण तथा उपचार गर्दै आएको थियो ।
आइतबारदेखि लागू हुने गरी स्वास्थ्य मन्त्रालयले अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मीलगायतको उपचारमा पनि यदी कोरोना बीमा गरेको छ भने बीमाबाटै खर्च गर्ने निर्णय गरेको छ । ‘विपन्न, अशक्त तथा असहाय अवस्थामा रहेका नागरिकहरू, ज्येष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइकर्मी कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीहरूमा लक्षण वा चिन्ह देखिएमा परीक्षण र उपचार निःशुल्क गरिनेछ,’ प्रवक्ता गौतमले भने, ‘तर उल्लेखित व्यक्तिले कोरोना बीमा गरेको भएमा परीक्षण र उपचार खर्च निजको बीमाबाट बेहोरिनेछ ।’
डाक्टर गौतमका अनुसार अन्य सबै व्यक्तिको परीक्षण तथा उपचार व्यक्तिकै आफ्नै खर्चमा गर्ने गराउने निर्णय भएको छ । ‘यो आइतबारदेखि भर्ना तथा परीक्षण हुनेमा सबै किसिमका सरकारी तथा गैरसरकारी अस्पताल र प्रयोगशालामा लागू हुनेछ,’ उनले भने । उनले कोरोनाको उपचारका लागि रेन्डिसिभिर औषधी मन्त्रालयमा सूचीकृत अस्पतालहरूको फार्मेसीबाट विक्री वितरण गर्ने व्यवस्था पनि भएको प्रवक्ता गौतमले बताए ।
त्यस्तै सरकारले घरमै ‘होम आइसोलेसन’ मा कोरोना संक्रमितको मृत्यु भए परिवारले नै शव व्यवस्थापन गर्ने गरी मापदण्ड परिमार्जन गरेको छ । स्वास्थ्य मन्त्रालयले कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि २०७७’ दोस्रो संशोधन गर्दै उक्त निर्णय गरेको हो । पछिल्लो समय धेरै संक्रमितको मृत्यु हुँदा शव व्यवस्थान गर्न कठिनाइ भएको भन्दै सरकारले परिवारले नै शव व्यवस्थापन गर्ने गरी मापदण्ड तयार गरेको हो । साथै संक्रमितको घरमै मृत्यु भएको अवस्थामा परिवारले स्थानीय प्रतिनिधि र प्रहरीलाई खबर गर्नु पर्ने भनिएको छ । त्यसपछि परिवार र अन्तिम संस्कारमा सहभागी हुनेहरूले सजकता अपनाइ शवको अन्त्यष्टि गर्नुपर्ने मापदण्डमा उल्लेख छ । यसअघि भने संक्रमितको मृत्यु भए जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले व्यवस्थापन गर्दै आएको थियो ।
यसैबीच नेपालमा आइतबार थप २ हजार ९ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको कूल संख्या १ लाख ३२ हजार २४६ पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३९ हजार ३४१ रहेको छ । आइतबार थप २ हजार ३२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ९२ हजार १६६ पुगेको छ । नेपालमा आइतबार थप १२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७ सय ३९ पुगेको छ ।