बुटवल–मानवअधिकारबादी नेता कृष्ण पहाडीले प्रधानमन्त्री केपी शर्मा ओलीले सनकका भरमा संसद विघटन गर्दा मुलुक गृहयुद्धमा धकेलिने चेतावनी दिएका छन् ।
ओलीले संविधान विपरित प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई गृहयुद्धतर्फ उन्मुख उनले आरोप लगाए । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको २१ औ साधरणसभा तथा १२ औ अधिवेशनलाई शनिबार बुटवलमा सम्बोधन गर्दै समाजका संस्थापक समेत रहेका पहाडीले संसद विघटन प्रतिगामी कदम भएकाले विरोधमा उत्रेको बताए ।
प्रतिनिधिसभा पुनःस्थापना नभए संविधान असफल हुने र मुलुक द्वन्द्वमा जाने उनको तर्क छ ।
“कदम कथाचित प्रतिनिधिसभा पुनःस्थापित भएन र बैशाखमा चुनाव पनि भएन भने केपीको सरकार अवैध हुन्छ, अर्काे खिलराजको सरकार बन्छ । त्यसपछि राष्ट्रपति सक्रिय हुने, संकटकाल लगाउने र मुलुक झन् द्वन्द्वमा जाने खतरा छ’–उनले भने ।
बैसाखपछि नेपालमा अन्तराष्ट्रिय शक्तिहरुले रणभूमि बनाउने ठोकुवा गरे । ‘संविधान फेला गराउन र राजावादीसंग सांठगांठ भएमात्रै संसद बौरिदैन, अब प्रतिगमन विरूद्व उत्रन ढिला गर्नु हुदैन, ओलीलाइ नागरिकले बहिस्कार गर्ने दिन आंउदैछ’–उनले भने ।
विगतमा संसद विघटनलाई बारम्बार प्रधानमन्त्रीले छडीका रूपमा प्रयोग गरेकाले अहिलेको संविधानमा विघटनको कल्पना समेत नगरिएको उनले बताए ।
‘जनताले नै निषेध गर्नेवाला छन् प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको पनि विवेक जांच्ने बेला भएको छ , शेरबहादुर जी पनि प्रतिगमनका लागि सत्तासंग जोडिए जनताले लखेटनेछन’–उनले भने ।
उनले भने—‘चोरले पनि तीन घर छाडेर चोर्छ तर ओलीले त एक घर पनि छोडेनन् उनले (घरमा) संविधानमा आगो लगाएर जाडोमा तापिरहेका छन्, पार्टी, संसद र संविधान भत्काउने क्रम शूरू गर्नेका बिरुद्ध जनता सडकमा आउनुपर्छ ।’ अहिले सबैभन्दा पहिला प्रधानमन्त्रीलाई मानहानिको मुद्वा लगाउनुपर्ने उनको तर्क छ ।
संविधानमा व्यवस्था नभएको संसद विघटन गरेर प्रधानमन्त्री ओलीले संवैधानिक कू गरेको भन्दै उनले वैशाखमा चुनाव पनि नहुने र सरकार पनि अवैध हुने भएपछि संविधान नै समाप्त भइ गृहयुद्ध हुने चेतावनी दिए ।
संविधान असफल भएपछि विदेशी शक्तिले मुलुकमा रजाई गर्ने भन्दै पहाडीले केपी ओलीका कारण लिक वाहिर गएको संविधानको रक्षा गर्नुपर्ने धारणा राखे ।
ओलीको कदमले राजावादी र विप्लव माओवादीहरु सबै भन्दा बढी खुशी भएको उनको तर्क छ ।
मुलुभरवाट ओलीको अतिवाद र ओलीको सनकको विरोधमा जनदवाव जरुरी रहेकोले नागरिक समाज तथा सामाजिक अभियान्ताहरु आन्दोलित हुन आह्वान समेत गरे ।
लुम्बिनी प्रदेश नेपाली कांग्रेस संसदीय दलकी सचेतक निर्मला क्षेत्रीले प्रधानमन्त्री ओलीको कदम संबैधानिक कू भएको भन्दै संविधान विरोधी ओली कदमको न्यायालयले संसदको पुर्नस्थापना गरेर देखाई दिनुपर्नेमा जोड दिइन् ।
उनले पार्टी भित्रको किचलो मिलाउन नसक्ने अनि संविधानमा नै व्यवस्था नभएको विषयमा संसद विघटन गर्नु प्रधानमन्त्री ओलीको सर्वसत्तावाद अलोकतान्त्रिक कदम भएको आरोप लगाइन् ।
लुम्बिनी प्रदेशका सांसद तथा नेकपाका नेता विष्णु पन्थीले ओलीले जनताको अभिमतलाई कुल्चेर देशलाइ बर्बादी बनाएको आरोप लगाए ।
यो संकटका बेला राज्यको अर्वाै खर्च गरेर चुनाव गर्नुको कुनै अर्थ नभएको उनको ठहर छ ।मुलुक ठूलो दुर्घटनातर्फ गएको भन्दै उनले बचाउन सबै जुट्नुपर्ने बताए ।
पन्थीले प्रधानमन्त्री ओलीको कदमले मुलुकमा अनिष्टको संकेत देखापरेको भन्दै अब लोकतन्त्र रोज्नेकी प्रतिगमन रोज्ने वेला आएको धारणा राखे ।
उनले बैशाखमा चुनाव पनि नहुने र चुनाव गराउनका लागि संसद विघटन नगरिएकोले मुलुकमा प्रतिगमनको खतरा बढेकोले संसद पुर्नस्थापनाको पक्षमा आन्दोलित हुन माग गरे ।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय अध्यक्ष उत्तम पुडासैनीले राष्ट्रपतिको मिलेमतोमा संसद विघटन गरेको बताए ।
प्रधानमन्त्रीको लहडका भरमा अप्रजातान्त्रिक, अलोकतान्त्रिक रूपमा चालेको कदम भएको बताए । समाजका वरिष्ठ उपसभापति गोविन्द खनालले असवैधानिक एंव अलोकतान्त्रिक तबरले प्रतिनिधिसभा विघटन गरेर देशलाई दुर्घटनातर्फ लगेको आरोप लगाए ।
शान्ति समाज रुपन्देही सभापति डीपी खनालको सभापतित्वमा भएको कार्यक्रममा ट्रेड युनियन कांग्रेसका केन्द्रिय उपाध्यक्ष अजय राई, राससका पूर्व अध्यक्ष वरिष्ठ पत्रकार बालकृष्ण चापागाई, उच्च अदालत बुटवल वारका अध्यक्ष जोग बहादुर खत्री, राष्ट्रिय मानव अधिकार आयोग बुटवलकी प्रमुख सम्झना शर्मा, माहुरीहोमका रवि ठाकुर, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक प्रतित सिंह राठौर, समाजका केन्द्रिय सचिव कृष्ण रावल, केन्द्रिय सदस्य मीना ढकाल,रुपन्देहीका सचिब अर्जुन ज्ञवाली लगायतले धारणा राखेका थिए ।
कार्यक्रममा बोल्ने बक्ताहरुले प्रधानमन्त्री ओलीको अलोकतान्त्रिक,असंबैधानिक आत्माघाती कदमको बिरोध गर्नुपर्ने बताएका थिए ।