रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले कृषि उत्पादनलाई प्राथमिकता दिँदै सरकारले झण्डै रु १६ अर्ब रासायनिक मलमा अनुदान छुटटयाएको बताउनुभएको छ ।
जिल्लाको शुद्धोधन गाउँपालिका – ५ मा निर्मित शुद्धोधन पार्क उद्घाटन कार्यक्रममा बोल्दै कोरोना संक्रमणका कारण अन्तरराष्ट्रिय बजारमा रासायनिक मलको मूल्य धेरै पर्ने भएकाले अनुदान छुट्याएको स्पष्ट पार्नुभयो ।
“रासायनिक मल खरिदका लागि प्रक्रिया अघि बढेको छ । अन्तरराष्ट्रिय बजारमा जति मूल्य छ त्यसैमा किन्ने हो किसानलाई महङ्गो पर्छ । हामी पनि किसानकै सन्तान भएकाले कृषकले उत्पादनमा अवरोध झेल्न नपरोस् भनेर प्रयत्न गरिहेको छौ”, उहाँले भन्नुभयो ।
अहिले विभिन्न स्वरुपमा मल आयात भएपनि पर्याप्त नभएको उहाँको भनाइ छ । अहिले विभिन्न देशसँग संवाद गरिाखेकाले छिट्टै समस्या समाधान हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
“भारतले जति मूल्यमा हामीले ल्याउनुपर्छ । पछिल्लो समय भारत सरकारले तोकेको मूल्य बढी भएकाले खरिद गर्न सकिएको छैन । मल सम्बन्धि कारखाना खोलौ भने समय लाग्छ । कारखाना सहज छैन । ठूलो उर्जाको आवश्यकता पर्छ”, गृहमन्त्री खाणले भन्नुभयो ।
अर्को प्रसंगमा गृहमन्त्री खाणले नेपाली नागरिक अनागरिक बन्नुपर्ने परिस्थिती सृजना नहोस् भन्नका लागि सरकारले नागरिकता विधेयक ल्याएको स्पष्ट पार्नुभयो ।
नेपाली नागरिक भएर पनि नागरिकको अधिकारबाट बञ्चित भएकाले यसलाई स्विकृत गर्न बिलम्ब गर्न नहुने उहाँको भनाइ छ ।
शुद्धोधन सहित रुपन्देहीको विकास सबैको चाहना भएको बताउँदे उहाँले शुद्धोधनको विकासको प्रतिफल रुपन्देहीले प्रात्त गर्नेगरी काम अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।
सामाजिक साँस्कृतिक सम्पदाको संरक्षण गर्नु राज्यको दायित्व भएकाले विकास निर्माण अघि बढाउँदा विभिन्न जाती, धर्म र सम्प्रदायका नागरिकको सँस्कार अनुसार फरकफरक रहेकाले सोही अनुसारको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । “पार्क विकासको अपूर्व आधारशिला हो । विकास भनेर बाटो मात्रै बनाएर हुँदैन, बाटोघाटो, नदीनाला, सिँचाइसँगै पार्कको पनि जरुरी छ ”, उहाँले भन्नुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले शुद्धोधनलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
प्रदेश सभाका सदस्यहरु तुल्सी चौधरी र पुष्पा थरुनीले पार्क निर्माणमा अवरोध सृजना भए पनि निर्माण सम्पन्न भएपछि पालिकाको पहिचान बनेको बताउनुभयो ।
गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्याल, उपाध्यक्ष शान्तीदेवी ज्ञवाली लगायतले यो पार्कको विकास र सुन्दरीकरणका लागि प्रदेश र संघीय सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो ।
गाउँपलिकाका प्रवक्ता केशबप्रसाद अधिकारीका अनुसार मानपकडीमा निर्माण गरिएको शुद्धोधन पार्कमा जिराफ, सिंह, बाघ, चितुवा, गैडा, कंगारु, उट, डाइनोसर लगायतका जनवर र चराका आकृतिका मुर्तिहरु राखिएका छन् ।
किनारमा पाम ट्री, गौतम बुद्धको मूर्ति र वाटर फाउण्टेनले पार्कलाई थप आकर्षक बनाएको छ । पर्कको छेवैमा रहेको सुखली घोलामा बाँध बनाई पानी जम्मा गरिएको छ । पार्क अवलोकनको लागी आउने आगन्तुकलाई त्यहाँ डुङ्गा शयर गराउने गाउँपालिकाको योजना रहेको छ ।
शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत झविलाल भट्टराइले रु तीन करोडको गुरुयोजना बनाएर पार्क निर्माण गरिएको जानकारी दिनुभयो ।