बुटवल । मंगलबार पाल्पाको रानीमहलमा छुट्टै रौनक थियो । महललाई रातै ब्यालुनले सजाइएको थियो । विभिन्न पहिरनमा चिटिक्क परेका जोडिहरुको उपस्थितिले रानीमहलको प्राङ्गण आकर्षक बनेको थियो । त्यही महलको आँगनमा प्रेमी जोडिले माया साटासाट गरिरहेका थिए । क्यामराम्यानलाई दृश्य कैद गर्न भ्याइ नभ्याइ थियो ।
‘चिरकालीन सम्बध्नका लागि रानीमहल’ भन्ने नारासहित रानीमहलको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले तानसेन नगरपालिका र नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाटा) लुम्बिनीले प्रणय दिवसको दिन यहाँ विशेष कार्यक्रम आयोजना गरेका थिए ।
प्रेमको प्रतिक मानिने रानीमहलमा प्रेमी वा, विवाहित जोडिलाई महत्व दिएर कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा सहभागी हुन पूर्वमन्त्री तथा प्रदेश सभका सदस्य विर बहादुर राना, विभिन्न नगरपालिकाका प्रमुख उपप्रमुख सहित पर्यटनमा चासो राख्ने सरोकारवाला निकायहरु पुगेका थिए ।
यस्तै पोखरा, रुपन्देही तथा पाल्पाका विभिन्न स्थानबाट जोडिहरु रानीमहल पुगेका थिए । उनीहरुले रातो गुलाबको फूल सहित विभिन्न उपहार आदानप्रदान गरेर माया साटासाट गरे ।
जोडिहरुले रानीमहलको उत्तर वाहिनी गंगासँगै रहेको महादेव मन्दिरमा सिक्का चढाएर निरन्तर साथ, सहकार्य र मायाको प्रण गरे । यो महादेव मन्दिरमा सिक्का चढाउँदा प्रेम दिगो र अमर हुन्छ भन्ने धार्मिक विश्वास छ ।
ऐतिहासिक स्थलमा आएर आफ्नो जिवनसाथीसँग माया साटासाट गर्न पाउँदा जोडीहरु पनि दङ्ग थिए । “जिवनको सबैभन्दा रमाइलो पलको रुपमा यो दिनलाई लिने छु ”, बुटवलबाट रानीमहल पुग्नुभएका अनिलमान श्रेष्ठले भन्नुभयो ।
नेपाली संस्कृति नभए पनि पछिल्लो समय फेब्रुअरी १४ अर्थात प्रणय दिवस नेपाली युवायुवतीमाझ निकै लोकप्रिय बनेको छ ।
“हामी आफ्नै काममा व्यस्त हुँदा माया साटासाट गर्न भ्याएका हुँदैनौ, आफ्नो जीवनसाथीलाई तिमी मेरा लागि खास छौ भन्न भ्याएका हुँदैनौ त्यसैले आजको दिनले अर्थ राख्छ”, पोखराबाट जीवनसाथीसँगै रानीमहल आउनुभएकी संगिता अधिकारी भन्नुहुन्छ । पहिलो पटक रानीम्हलमा आएर प्रेम दिवम मनाउन पाउँदा निकै खुशी लागेको उहाँ सुनाउनुहुन्छ ।
त्यसो काखमा सानो बच्चा बोकेरै पनि विवाहित जोडिहरु रानी महल पुगेका थिए । “हामी पनि रानीमहलको प्रवद्र्धनका लागि सहयात्री बन्न आयौँ, प्रेमको प्रतिक रहेको स्थलमा आएर प्रेम साटासाट गर्न पाउँदाको मज्जा बेल्गै हुँने रहेछ, बुटवलबाट काखमा ६ महिने बालक बोकेर पुगेकी कमला अर्याल भन्नुहुन्छ ।
भ्यालेन्टाइन्स डेलाई विशेष गरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने बहानाका रुपमा लिने गर्दछन् ।
तर्क गर्नेहरुले यो पश्चिमा संस्कृति हो । आयतित संस्कृति हो भनेपनि प्रेमका पक्षपातीहरु भने प्रेमको कुनै भूगोल र सीमा नहुने बताउँछन् ।
“प्रेम दिवस युवाहरुमाझ प्रिय छ , यही दिनलाई पे्रमको प्रतिक रानीमहलसँग जोड्दा यसको ब्राण्डिङ हुन्छ । अब हरेक प्रणय दिवस मनाउन रानीमहल आउने वातावरण बनाउनुपर्छ”, नाटा लुम्बिनी प्रदेशका अध्यक्ष रचना पन्त भन्नुहुन्छ ।
वि.सं. १९५० सालमा सुरु गरेर १९५४ मा निर्माण सकिएको रानीमहल दरबार पाल्पाका तत्कालीन जनरल खड्ग शमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा निर्माण गरेका हुन् । झण्डै ११ रोपनी क्षेत्रफलमा रानीमहल दरबार फैलिएको छ । रानीमहललाई ‘प्रेमको प्रतीक’का रुपमा लिइँदै आएको छ । पछिल्ला १० वर्षयता भने प्रेम दिवसका अवसरका साथै अन्य समयमा पनि रानीमहलमा प्रेमिल जोडीहरू पुग्ने गर्छन् ।
यही कारण पनि यो क्षेत्रलाई अहिले फरक ढंगले स्थानीय सरकार र पर्यटन व्यवसायीहरूले ब्राण्डिङ गर्न थालेका हुन् ।
पाल्पाको बगनासकाली गाउँपालिकाको खानीगाउँ र तानसेन नगरपालिका १३, बौघागुम्हाको सीमाक्षेत्रमा रहेको रानी महल व्यवस्थापनका लागि चार वर्षअघि तानसेन नगरपालिकाले पुरातत्त्व विभागबाट व्यवस्थापनको जिम्मा लिएको हो नगरपालिकाका पर्यटन प्रवद्र्धन समितिका संयोजक सागमान महर्जन बताउनुहुन्छ ।
प्रेमले सबैलाई खुशी दिन्छ । जिउँदो रहँदामात्रै होइन मृत्युपश्चात पनि खड्क शमशेरले दिवङ्गत रानीको सम्झनामा यो आकर्षक रानीमहल बनाए । यसले प्रेममा त्याग र समर्पण भाव हुनुपर्ने कुरालाई स्पष्ट बनाएको छ ।
“मनलाई भड्किन नदिन बाँधेर राख्नुपर्छ , आजभोलि मनहरु छिट्टै भाँचिन्छन् । त्यसैले प्रेम दिगो हुनुपर्छ, यस्तो प्रमले आनन्द दिन्छ, शान्ति मिल्छ”, कार्यक्रममा पूर्वमन्त्री तथा प्रदेश सभाका सदस्य विरबहादुर रानाले भन्नुभयो । रानीमहलमा पर्यटन प्रवद्र्धन गर्न सबैको हातेमालो हुनुपर्ने उहाँको भनाइ थियो ।
लुम्बिनी प्रदेश सरकारले रानीमहल परिसरमा सामान्य पार्क निर्माण गर्नेबाहेक खासै काम गरेको छैन । प्रदेश सरकारले रानीमहललाई प्रदेशको महत्वपूर्ण पर्यटकीयस्थल बनाउने लक्ष्यअनुसार पहिलो चरणमा पार्क बनाउने काम गरेको थियो ।
पाल्पाका अन्य स्थानमा आउने पर्यकटलाई रानीमहलसम्म ल्याउनका लागि पहल थालिएको तानसेन नगरपालिका प्रमुख सन्तोषलाल श्रेष्ठ बताउनुहुन्छ । “ऐतिहासिक महत्वको स्थान भएर पनि यो क्षेत्र पछाडि परेकाले नगरपालिकाले यस्तो कार्यक्रम आयोजना गरेको हो, अबका दिनमा सबैको साथ र सहयोगले यो ठाउँको प्रवद्र्धन हुने छ ।”, उहाँ भन्नुहुन्छ ।
स्थानीय सरकारलाई साथमा लिएर नाटा लुम्बिनीले अहिले प्रदेशका पर्यटकीय क्षेत्रको प्रर्वद्धनका लागि अभियान चलाइरहेको छ । रानीम्हल सहित प्रदेशका १२ जिल्लाका पर्यटकीय गन्तव्यको प्रचार प्रसार र प्रवद्र्धन गर्ने कार्यमा नाटा लागिपरेको कार्यक्रम संयोजक बरुण ज्ञवाली बताउनुहुन्छ ।
काली गण्डकी नदीको उत्तरतर्फ विशाल चट्टानमाथि आकर्षक महल बनेको छ । रानी महल दरबारको बायाँतर्फ शीतल पाटी दरबार परिसरमा फोहराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुई वटा पोखरी दाहिनेतर्फ पहरा दिने स्थल छ भने खुड्किलोको बायाँतर्फ एउटै किसिमको शिव र गङ्गाका दुई मन्दिर छन् ।
विसं १९६० मा खड्ग शमशेरले श्री ३ को पदसहित शासन सत्ताको बागडोर आफूले सञ्चालन गर्न खोज्यो भन्ने षड्यन्त्रको छनक पाएपछि चन्द्र शमशेरले पाल्पामा थप सेना पठाइ तैनाथी आफ्नो हातमा लिएका थिए ।
दिवङ्गत रानीको सम्झनामा बनाइएकोले रानी महल दरबारलाई ’प्रेमको प्रतीक’ का रूपमा लिइने गरिन्छ ।
बेलायती इन्जिनियरको डिजाइनअनुसार बनाइएको महलको परिसरमा मनमोहक बगैँचा, शिवालय, पानी पोखरी, शिवलिङमा नागनागिनीले जल शेरचनको दृश्य, भान्सा घर, घोडा बाँध्ने तबेला ठूला घण्टहरूसहितको विभिन्न आकर्षक कलाकृति रहेका छन् ।
दरबारको मूलढोकाबाट कुँदिएका ढुङ्गा र इँटाबाट बनाइएका खुड्किला तल सिधा कालीगण्डकी नदी कुण्डसम्म जोडिएका छन् । प्रसिद्ध मुक्तिनाथ तीर्थ जाने मुख्यद्वार भएकाले तीर्थालुहरूलाई बस्ने सुविधासहितका पौवा निर्माण गरिएको छ ।