काठमाडौँ । सरकारले विपद् व्यवस्थापन पूर्व तयारी, खोज, उद्धार, राहत र पुनः स्थापनाका लागि सङ्घ, प्रदेश र स्थानीय स्तरमा एक लाख चार सय ४६ स्वयंसेवक तयार गरेको जनाएको छ ।
प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आजको बैठकमा गृह सचिव दिनेश भट्टराईले स्थानीय समुदायको सहभागिता अभिवृद्धिसँगै स्वयंसेवकको पहिचान र परिचालन गर्न ‘स्वयंसेवक व्यवस्थापन सूचना प्रणाली’को विकाससमेत गरिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “विपद् प्रभावितको उद्धार र राहतलाई प्रभावकारी बनाउन विपद् व्यवस्थापनमा संलग्न निकायको क्षमता अभिवृद्धिका लागि आवश्यक स्रोत व्यवस्थापन गरेको छु ।”
सचिव भट्टराईले विपद् उद्धार तथा व्यवस्थापनका लागि सबै प्रदेशमा ‘मल्टिपर्पोज रोवोटिक फायर फाइटिङ’ एवं वारुणयन्त्र खरिदको प्रक्रिया तयार भएको बताउनुभयो ।
समितिका सभापति मायाप्रसाद शर्माले जाजरकोटमा गएको भूकम्पमा उद्धारमा समस्या नरहे पनि आवास निर्माणमा ढिला भएको बताउनुभयो । उहाँले चिसोका कारण त्रिपालमा बसेका सुत्केरी र ज्येष्ठ नागरिकले ज्यान गुमाउनु परिरहेकाले मन्त्रालयले छिटो आवास निर्माण गरिदिन आग्रह गर्नुभयो ।