बुटवल । बुटवलमा माइक्रो बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय, बुटवलका अनुसार बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ३३७४ नम्बरको बसले साइकलयात्रीलाई ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको हो ।
मंगलबार दिउँसो बुटवल ८ मिलनचोकमा भएको उक्त दुर्घटनामा साईकलयात्री अन्दाजी ४० वर्षीय पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डिएसपी) विजयराज पाण्डितले जानकारी दिनुभयो ।
ठक्कर दिएपछि बसको चक्कामुनि परेका साइकलयात्रीको टाउको क्षतविक्षत भएको प्रहरीले जनाएको छ । मृतक व्यक्तिको पहिचान भने अझै खुल्न सकेको छैन । अहिले प्रहरीले मृतकको शवलाई लुम्बिनी प्रादेशिक अस्पतालमा राखेको छ भने, ठक्कर दिने बस र चालक कृष्ण कंडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।