काभ्रेपलाञ्चाेक : नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं सांसद गोकुलप्रसाद बाँस्कोटाले पत्रकारको आर्थिक र भौतिक सुरक्षा हुनुपर्ने बताएका छन् ।
उनले आज प्रेस चौतारी नेपाल काभ्रेपलाञ्चोकद्वारा बनेपामा आयोजित सदस्यता वितरण एवं अन्तक्र्रिया कार्यक्रममा आर्थिक सुरक्षा नभएसम्म सञ्चारकर्मी स्वतन्त्र नहुनेसमेत दाबी गरे ।
“नेपाली सञ्चारकर्मीलाई आर्थिक र भौतिक सुरक्षाको आवश्यकता छ, आर्थिक सुरक्षा नभएसम्म उ स्वतन्त्र पनि बन्न सक्दैन”, बाँस्कोटाले भने ।
सञ्चारकर्मीको श्रमको सुरक्षा र सम्मान हुनुपर्ने बताउँदै कोरोना सङ्क्रमणकालमा ठूला भनिएका मिडियाले पनि बिना पैसा काम लगाएको र कामको पारिश्रमिक नदिई रोजगारीबाट समेत हटाएको उनले आरोप लगाए ।
पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका बाँस्कोटाले भने, “यस्तै मिडियाका कारण सञ्चारकर्मीको आर्थिक सुरक्षा भएको छैन ।” उनले नेपालमा नेता र मन्त्रीको पछि लागेर र उनीहरुका कथा बनाएर पत्रकारिता सम्मानित हुन नसक्ने उल्लेख गरे ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले पत्रकारिता आचारसंहिता मिचेर कुनै पनि सञ्चारकर्मीले काम गर्न नहुने बताउँदै श्रमजीवी पत्रकारलाई तोकिएको न्यूनतम पारिश्रमिक कार्यान्वयन गराउन दत्तचित्त रहेको बताए ।
सो अवसरमा वाग्मती प्रदेशसभा सदस्य चन्द्र लामा, मण्डनदेउपुर नगरपालिका उपप्रमुख निर्मला शाही, प्रेस चौतारी नेपाल काभ्रेपलाञ्चोकका संस्थापक अध्यक्ष सुरेशप्रसाद हुमागाईलगायतले पत्रकारिता क्षेत्रले मर्यादा भुल्न नहुने बताएका थिए । रासस