श्याम अधिकारी
प्रदेश ३ को स्थायी राजधानी हेटौंडा कायम भएपछि प्रदेश ५ को राजधानीका विषयमा पनि अनेक खालका बहसहरु हुन थालेका छन् । यस क्षेत्रका नेता तथा सांसदहरु बुटवल राजधानी रहने कुरामा ढुक्क छन् । तर कतिपय व्यक्तिहरुले बुटवल राजधानी सार्न अनेक प्रयत्नहरु गरिराखेका कुराहरु बाहिर आएका छन् । हुन त, सबै प्रदेशका अस्थायी राजधानीहरु स्थायीमा परिणत भइसकेको अवस्थामा प्रदेश ५ को राजधानी सारिन्छ भन्ने कुरा बेकारको परिकल्पना मात्र हो । तैपनि बुटवल राजधानीका लागि किन उपयुक्त छ भन्ने आधारहरु यहाँ प्रस्तुत गर्न खोजिएको छ ।
अस्थायी राजधानी
२०७४ माघ ३ गते शेरबहादुर देउवा नेतृत्वको सरकारले सातै प्रदेशमा अस्थायी मुकाम घोषणा गर्यो । अस्थायी मुकाम घोषणा अघि र पछि मुलुकका विभिन्न स्थानमा दबाबमुलक आन्दोलनहरु भए । प्रदेशको सीमांकन तय हुने क्रममा साबिक लुम्बिनीलाई फुटाउन नपाइने दबाबस्वरुप जति संघर्षहरु भए बुटवल राजधानी बनाउन माग गर्दै आन्दोलनहरु चाहिँ खासै भएनन् । त्यतिबेला आन्दोलन नभएपनि प्रदेश राजधानी घोषणाका विषयमा रुपन्देही वा बुटवलमा पनि राम्रै चासो थियो । पुरानो र व्यवस्थित बन्दै गइरहेकाले एकखालको दाबी पनि थियो बुटवलको । प्रदेशको राजधानी दाङ र बुटवल मध्ये कुन ठाउँमा घोषणा होला भन्ने विषयमा विभिन्न खालका तर्क र अड्कलबाजीहरु आइरहेकै थिए । यद्यपि भूगोलका हिसाबले केन्द्र भागमा पर्ने भन्दै दाङ राजधानी घोषणा हुने सामान्य अड्कलबाजी धेरैको थियो । त्यसबेला साबिक लुम्बिनी अञ्चलका जनता बुटवल राजधानी नभएपनि आन्दोलन गर्ने मानसिकतामा थिएनन् । तथापि दाङमा राजधानीका लागि आवश्यक पूर्वाधारहरु नरहेको भन्दै बुटवल अस्थायी राजधानी घोषणा भयो । राजधानी घोषणा पछि बुटवलमा एक किसिमको उत्साह सिर्जना भयो । अहिले राजधानीका कारण बुटवलमा चहलपहल बढेको छ । गतिविधिहरु बढेका छन् । जसका कारण यहाँका जनताहरु बुटवलबाट राजधानी अन्यत्र सार्न दिने मानसिकतामा रहने कुरै भएन । यहाँका जनता यसरी अभ्यस्त भइसके कि राजधानी बुटवलबाट सार्ने कुराको परिकल्पना समेत गर्न छाडेका छन् ।
अर्को कुरा, देउवा सरकारले घोषणा गरेका सबै अस्थायी राजधानीहरुलाई स्थायी बनाउने घोषणा भइसकेकाले बुटवल मात्रै सार्ने भन्ने कुरा कल्पना गर्ने विषय पनि भएन । त्यसो भएकाले राजधानी सार्ने कुरा हिजो आन्दोलनको मुडमा नरहेका बुटवलका बहुसंख्यक जनतालाई राजधानी सार्ने विषय उठाएर उत्तेजित बनाउने काम मात्र हुनसक्छ । देउवा सरकारले अस्थायी राजधानी घोषणा गरेका सबै स्थानहरुलाई प्रदेश सरकारहरुले स्थायी राजधानीका रुपमा घोषणा गरिसकेको अवस्थामा बुटवल मात्रेै सार्ने कुरा स्वभावैले अनुपयुक्त हुनेछ ।
राजधानी कम्पासले नापेर केन्द्रमा हुंदैन
संसारका कुनैपनि मुलुकमा राजधानीहरु भौगोलिक हिसाबले केन्द्र भागमा छैनन् । अमेरिकाको राजधानी वासिङटन डिसी होस् वा चीनको राजधानी बेइजिङ वा भारतको राजधानी दिल्ली अथवा नेपालकै राजधानी काठमाडौं समेत भौगोलिक हिसाबले केन्द्र भागमा छैनन् । यदि नेपालको राजधानी भूगोल नापेर केन्द्रभागमा हुनुपर्ने थियो भने नवलपरासी या त्यसै सेरोफेरोमा हुनुपर्ने थियो । अर्कोकुरा, भूगोलका हिसाबले केन्द्रभागमा हुँदैमा राजधानी जनताका लागि सुगम नहुन सक्छन्, पायक नपर्न सक्छन् । भौगोलिक सुगमता, भौतिक पूर्वाधार तथा अन्तरराष्ट्रिय समुदायले चिन्नका लागि सजिलो हुने ठाउँलाई राजधानी बनाइनु उपयुक्त हुन्छ । सोही कारण बुटवल पनि राजधानीका लागि उपयुक्त छ । यदि राजधानी केन्द्रमै राख्नुपर्ने थियो भने विराटनगर, हेटौंडा, धनगढी र सुर्खेतलाई पनि राजधानी घोषणा गरिनु हुँदैनथ्यो । फेरि राजधानी फिताले नापेजसरी या कम्पासले गोलो घेरा बनाएर त्यसको ठीक बीच भागमा बनाइनुपर्ने भए संविधानमै यो कुरा उल्लेख गर्नुपर्ने थियो । किनकी यसअघिका अभ्यासहरुमा पनि राजधानी केन्द्रमै राख्ने गरिएको छैन ।
नयाँ ठाउँमा झन् जटिल
बुटवल बाहेकका नयाँ ठाउँमा राजधानी सार्नुपर्ने कुराहरु पनि उठेका छन् । पूर्वपश्चिम राजमार्ग आसपासको कपिलवस्तुको क्षेत्र वा दाङको लमही क्षेत्र राजधानीका लागि विकल्प हुन सक्ने तर्कहरु अघि सारिएका छन् । तर अस्थायी राजधानी भइरहेका ठाउँबाट नयाँ ठाउँमा राजधानी सार्दा त्यसले सिर्जना गर्ने खर्च, व्यवस्थापन लगायतका विषयमा गम्भीर ढंगले सोंच्नुपर्छ । बुटवलमै राजधानीका लागि कार्यालय व्यवस्थित गर्न करीब १ वर्ष लाग्यो भने नयाँ ठाउँमा लैजाँदा के होला ? प्रदेश स्थापनाका समयमा व्यवस्थित कार्यालयहरु नहुँदा करिब एक वर्ष काममा ढिलाइ भएको कुरा बिर्सनु हुँदैन । अब बुटवलबाट नयाँ ठाउँमा राजधानी सार्दा पनि हुने त्यही हो । किनभने बुटवलमा जत्ति भौतिक संरचना प्रदेश ५ का अन्य ठाउँमा छैनन् । व्यवस्थापनका लागि त्यति सहज पनि छैन ।
भर्खरै कामको मेसो सोझिएको अवस्थामा फेरि राजधानी सार्दा प्रदेश सरकारका कामकारवाही अस्तव्यस्त हुनेछन् । किनकी बुटवलको विकल्प भनिएका दाङमा कार्यालयहरु राख्ने प्रशस्त भवन छैनन्, पूर्वाधार छैनन् । त्यहाँबाट बाहिर निस्किने खोलाहरुमा पुल छैन । वर्षातका बेला सम्पूर्ण प्रदेशको प्रशासनिक शक्ति राजधानी भित्रै थुनिएर बस्नुपर्ने अवस्था छ । त्यस्तो ठाउँमा राजधानीका लागि आवश्यक पर्ने सम्पूर्ण पूर्वाधारहरु निर्माण नगर्दै राजधानी सार्ने कुरा कल्पना गर्नुपनि मुर्खता हुनेछ । कपिलवस्तुमा राजधानी सार्ने विषय त झन् बेकारको तर्क मात्रै हो । कपिलववस्तुमा वनको जग्गा बाहेक राजधानीका लागि आवश्यक पर्ने संरचना बनाउन कतै पनि जग्गा खाली छैन । चारकोसे झाडी फडानी गरेर राजधानी बनाउने कुरा अब कल्पना नगर्दा हुन्छ । निजगढमा अन्तरराष्ट्रिय विमानस्थल बनाउने निर्णय कार्यान्वयन गर्न कठिनाई भईरहेका बेला कपिलवस्तुको वन फाँडेर राजधानी बनाउने कुरा कल्पनामा मात्र सम्भव हुनेछ । फेरि वनको सार्वजनिक जग्गा फाँडेर बनाउने सरकारी कार्यालय मात्र त होला । शहर बनाउन त निजी जग्गा चाहिन्छ । त्यस्तो जग्गा वनभित्र कसरी उपलब्ध हुन्छ ?
कति जनसंख्यालाई कस्तो सुगमता ?
राजधानी जनतालाई सुगम हुने, पायक पर्ने ठाउँमा हुनुपर्छ । यसमा कुनै अर्को तर्क छैन । तर त्यो सुगमता कस्तो खालको हो भन्ने विषयमा भने छलफल आवश्यक छ । प्रदेश ५ मा १२ जिल्ला छन् । साविकका लुम्बिनी, राप्ती र भेरी अञ्चलका केही जिल्ला मिलेर प्रदेश ५ बनेको छ । यो प्रदेशका ६ जिल्ला पहाड र ६ जिल्ला तराईमा छन् । यहाँको जनसंख्या ४४ लाख ९९ हजार छ । त्यसमध्ये करीब २६ लाख जनसंख्या साविक लुम्बिनी अञ्चलमा छ । त्यसबाहेकको बाँकी जनसंख्या अरु ६ जिल्लाको हो । यस्तो अवस्थामा बहुसंख्यक जनताको सुगमतालाई हेर्दा राजधानी बुटवलमै उपयुक्त देखिन्छ ।
साविक लुम्बिनी अञ्चलका ६ जिल्लाका जनताका लागि त बुटवल पानीपंधेरो जस्तै हो । यहाँका अधिकांश जनताको पहाड र तराई गरी दोहोरो बसाई छ । गुल्मी, अर्घाखाँची, पाल्पा र कपिलवस्तुका लागि बुटवल स्वभाविक रुपमै पायक स्थान हो । बुटवलदेखि साविक लुम्बिनीका अधिकांश स्थानमा यातायातको सहज पहुँच छ । त्यतिमात्रै हैन, बुटवलबाट देशका सबैजसो मुख्य शहरहरु र प्रदेश ५ का सबै जिल्लाका सिधा गाडी छुट्छन् । प्युठानका लागि पनि बुटवल पायक स्थान मानिन्छ । प्युठानबाट बुटवलका लागि यातायातका साधनको उपलब्धता र सुल्टो पायक पर्ने हुँदा प्युठानीहरुका लागि पनि बुटवल राजधानी नै उपयुक्त हुने ठहर गर्न सकिन्छ । त्यसो त दाङकै लागि पनि बुटवल अपायक छैन । २ देखि ३ घण्टाको यात्राको दुरी भएकाले दाङबासीका लागि पनि बुटवल सुगम नै छ । पूर्व पश्चिम राजमार्ग, उत्तर दक्षिण राजमार्ग र भैरहवामा निर्माणाधिन अन्तरराष्ट्रिय विमानस्थलले पनि रुपन्देहीलाई सुगम बनाएको छ । राजधानी आफ्ना जनताका लागि मात्रै सुगम भएर पुग्दैन । अरु प्रदेशबाट आउने पाहुना, विदेशी कुटनीतिक नियोगका व्यक्ति तथा घुम्न आउने पर्यटकहरुका लागि समेत सुगम हुनु जरुरी छ । त्यो रुपन्देहीमा मात्रै सम्भव छ ।
पर्याप्त पूर्वाधार
सुगमता पछि पूर्वाधार राजधानीका लागि सबैभन्दा महत्वपूर्ण शर्त हो । सरकारका काम कारबाहीलाई प्रभावकारी बनाउन सबैभन्दा पहिला पूर्वाधारहरु चाहिन्छन् । प्रदेश सरकारका मन्त्रालय, विभाग, निर्देशनालय तथा अन्य विभागीय कार्यालयहरुका लागि अलग अलग कार्यालय भवनहरु चाहिन्छन् । त्यस्ता कार्यालयहरु सुरक्षित र फराकिला हुनु जरुरी छ । कर्मचारीहरुलाई काम गर्न सहज हुने गरी प्रशस्त कार्यालयहरुको व्यवस्थापन प्रदेश ५ मा बुटवल बाहेकका अरु स्थानमा हुने सम्भावना छ्रैन । नयाँ भवनहरु निर्माणका लागि पनि बुटवल आसपासका क्षेत्रमा प्रशस्त जग्गा जमिन रहेका कारण यहाँ सरकारका हरेक कार्यालयहरुका लागि भवन बनाउन मिल्ने अवस्था छ । अर्को कुरा राजधानी भएपछि त्यहाँ स्वभाबैले थुप्रै गतिविधिहरु हुने गर्छन् । सभाहल, फराकिला सडक, गुणस्तरीय होटल, पार्क, खुला मञ्च, एअरपोर्ट जस्ता पूर्वाधारहरु बुटवल क्षेत्रमा प्रशस्त छन् । अत्याधुनिक र अन्तरराष्ट्रिय स्तरका सभागृहका साथै प्रदर्शनी केन्द्र समेत बन्दै गरेका कारण यहाँ पूर्वाधारहरुको कुनैपनि अभाव छैन ।