सानैदेखि म अर्काको घरमा काम गर्न बस्नुपर्यो । विवाह नहुँदै दुईवटा किसानको घरमा कमलरीको रुपमा म काम गर्न बसें । त्यहीँबाट धान रोप्न सुरु गरें । ९ वर्षको उमेरदेखि मैले धान रोप्न सुरु गरेको हो । विवाह भइसकेपछि पनि अरुकै घरमा काम गर्नुपरेको थियो । श्रीमान् कमैया काम गर्ने, श्रीमानकै ज्यालामा हामी पनि सँगसँगै काम गर्नुपर्दथ्यो । दुबैजनाले काम गर्दा बर्षको १२–१३ बोरा धान पाइन्थ्यो ।
विवाह अघि कमलरीको काम गर्दा भने वर्षको ३ सय रुपैया मेरो ज्याला थियो । त्यो ज्याला मैले देख्न पाउँदिन थिएँ । आमाबुवाले लिएर जानुहुन्थ्यो । पहाडीयाको घरमा काम गर्दा त्यो ज्याला आउँथ्यो । तर थारु समुदायको घरमा काम गर्दा भने ज्यालाको केही कुरा थिएन । एक जोर कपडा पाइन्थ्यो, त्यसमा लेहंगा, बलाउज र एउटा सल हुन्थ्यो । पछिल्ला दिनमा पो ज्याला पनि दिनको ५ सय ७ रुपैया भयो । अरुको घरमा काम गर्दा पनि रोप्ने एउटा छुट्टै खालको रहर थियो । जसको पाएपनि रोप्न जान मन लाग्ने । रोप्न पाउँदा खुशी र उत्साहीत हुन्थ्यौं ।
विवाह अघि र पछि गरेर १७–१८ वर्ष अरुकै घरमा धान रोप्ने र खेतीपातीको काम गर्यौं । कमैयामुक्ती पछि भने हामीले ५ कठ्ठा जग्गा पायौं । त्यही जग्गामा आफ्नो घर बनायौं र खेतीपाती पनि त्यसमै गर्नुपर्ने । थोरै खेत धान रोप्न उहि दिन खेतमा पस्यो त्यही दिन सकिन्थ्यो । मालिकको घरमा जस्तो थुप्रो दिनको रोपाई आफ्नो जमिनमा हुँदैन थियो ।
त्यसबेला रोपाइँमा हामी थारुहरुको बेग्लै संस्कृती थियो । गाउँघरका मान्छेले खेती लगाउन भन्दा अगाडी २ दिन दिन अघि नै विभिन्न प्रकारका तरकारी र परिकार तयार पार्दथे । खेती लगाउनको लागि खेतमा पूजा गर्ने चलन थियो । त्यसरी पुजा गरिसकेपछि मात्र बल्ल खेतीपातीको काम सुरु हुन्थ्यो । पूजापछि एक आपसमा खाने र खुवाउने गरिन्थ्यो । यसबाट सामाजिक सद्भाव, दुख–सुख साटासाट गर्ने माध्यम पनि हुन्थ्यो ।
गाउँको इष्टमित्रसँगै छोरीहरुलाई पनि बोलाउने खुवाउने गरिन्थ्यो । खेतीमा पस्नु अगाडि त्यसरी खुवाएपछि धेरै धान फल्छ भन्ने विश्वास थियो । अहिले पनि कतै कतै खेतमा पस्न भन्दा अगाडी पुजा गर्ने चलन त छ तर पहिले जस्तो उत्सवको रुपमा गरेको देखिँदैन । अहिले असार १५ लाई धान दिवसको रुपमा मनाइन्छ । आधुनिक तरिकाले धान दिवस मनाइएकाले त्यो चलन विस्तारै हराउन थालेको हुन सक्छ ।
त्यसबेला रोप्न पनि महिनौं लाग्थ्यो । एक महिना भर खेतको हिलो कुल्चनुपर्दथ्यो । गोरु राँगाले जोत्नुपर्ने बेला थियो । अहिले पो ट्याक्टर अनि आधुनिक मेसिनहरु आयो ।
खेतीपातीमा आधुनिकता आएर सहज भएपनि किसानहरुमा विउ भएन, मलखाद भएन भन्ने समस्या देखिन्छ । त्यसबाहेक पनि सिचाइको उत्तीकै जरुरी छ । पहिले आफ्नै हातले खेती किसानी गरेर पुर्याउने अवस्था थियो ।
अहिले ट्याक्टर लगायत अन्य कृषि औजार प्रयोग गर्दा किसानको लागत पनि बढेको छ । राज्यले उचित ध्यान नदिने हो भने किसानलाई नोक्सान पनि हुन्छ । त्यसैले किसानलाई फाइदा हुने गरी राज्यले योजना अघि बढाउन आवश्यक छ ।
(लुम्बिनी टाइम्ससँगको कुराकानीमा आधारित)