रामप्रसाद खनाल
२०१७ सालमा पक्राउ परेका कांग्रेसका पुराना नेता
मेरो काका पाल्पाको जिल्ला विकास सभापति हुनुहुन्थ्यो ।
म पनि तानसेनमा काकाकै सहयोगीको रुपमा काम गर्दथें । कांग्रेसको राजनीतिमा पनि सक्रिय थिएँ । काकाले बस्तुस्थीति बुझ्न मलाई पाल्पाको गाउँतिर पठाउनुभयो ।
म छहरा कचलतिर गएको थिएँँ । तिन चार दिन गाउँ बसेर पुस २ गते म तानसेन फर्कदै थिए । अघिल्लो दिन पुस १ गते के भयो मलाई थाहा भएन । भोलीपल्ट तानसेन फर्कदै गर्दा श्रीनगरमा नेकपाका तत्कालीन महासचिव लगायत कम्युनिष्ट नेताहरु खुशी मनाइरहेका थिए । अब नेपाली कांग्रेस सकियो भनेर खुशी मनाइरहेका थिए । ‘रामप्रसादजी आउनुहोस् तपाइ पनि हामीसँग खुशी मनाउनुहोस’ भने । के को खुशी भनेर सोधे ।
‘थाहा छैन र ’ मैले थाहा छैन भनें । ‘वीपी जेल गइसके । अरु पनि सारा नेता जेल गइसके । तपाई तान्सेन जादाँ तपाइँलाई पनि पक्रेला’ उनीहरुले भने ‘यहाँ हामीले पिक्नीकको आयोजना गरेका छौं । मज्जाले मासु भात खाएर जानुहोला ।’ वीपी लगायतका नेता जेल गएको सुनेर मलाई पिर पर्यो ।
केशरजंग रायमाझीलाई भने ‘म भरखर खाना खाएर आएको डाक्टर साप मैले खान्न डेरामा जान्छु पहिला’ तानसेनको सितलपाटी नजिकै मेरो डेरा थियो ।
डेरामा जाँदा जाँदै मलाई पक्राउ गरे । त्यो दिन मलाई सितलपाटीको थानामा राख्यो । अर्को दिन तल जेल पठायो । म जम्मा १८ १९ वर्षको थिए । त्यहाँ काकाहरु र अरु नेताहरुलाई पनि भेटें त्यस पछि आत्तीन छोडें । २०१८ साल भदौ १५ गते नेपालमा महाप्रलय हुने हल्ला चलेको थियो । त्यही बहाना गरेर हामी जेलबाट फरार भएका थियौं ।