जनवादी गणतन्त्र चीनको भ्रमणमा (गत पुसमा) गएका बेलामा यता हाम्रो देशमा प्रस्तावित निजगढ विमानस्थल बनाउन हुँदैन भनेर अदालतसम्मै विवाद पु¥याइँदै थियो । धेरै जनघनत्वलाई जोड्ने बुटवल–नारायणघाट सडक विस्तारका काममा पनि पोथ्रापोथ्रीका संख्या बढाउँदै अवरोध सिर्जना गर्न आन्दोलन सुरु भएको थियो ।
जब हामीहरु चीनको सिचुवान प्रान्तस्थित छेन्दू विमानस्थलमा बेलुका अवतरण ग¥यौं त्यहाँको भव्यता र वैभवपूर्ण अवस्थाले आश्चर्यचकित बनायो । त्यो कुनै मरुभूमि थिएन र कुनै बस्ती नबसेर खाली खेर गएको जमिन पक्कै थिएन । त्यो विमानस्थलको क्षेत्रमात्रै एकहजार ६७ वर्ग किलोमिटर क्षेत्रफल रहेछ । यो भनेको हाम्रो बुटवलको क्षेत्रफलभन्दा पनि झण्डै १२ गुना ठूलो हो । हाम्रो देशै सानो छ र चीनमा जत्रा आयोजनाहरु यहाँ बन्न सक्तैनन् । तर, पर्यटनका क्षेत्रमा त्यहाँ साना साना विषयलाई मिहिन ढंगले सजाइएको छ । वन, जंगल, जल र जमिनको उच्चतम सदुपयोग गरिएको छ । हाम्रो प्रदेशमा मात्रै त्यहाँका जस्ता पर्यटकीय क्षेत्रहरु सयौं बनाउन सकिने अवस्था छ । ती क्षेत्रमा आन्तरिक र बाह्य दुबैखाले पर्यटकहरु आउजाउ गर्न सक्छन् ।
हामी यहाँ सार्वजनिक सडक मिचेर घर बनाउँछौँ र हटाउन सरकारले विन्ती बिसाउँदा सरकारविरुद्धै लड्छौं । प्रकृतिले दिएको हरियालीबाहेक हामी आफैँले विस्तार गरेका क्षेत्र लगभग शून्यप्राय छन् हामीकहाँ । तर, त्यहाँ हरियाली प्रवद्र्धनमा लोभलाग्दो अवस्था देखियो । विमानस्थलबाट बाहिर जाँदा सडक छेउँमा टेका लगाएर राखिएका रुखहरु देखिएपछि सोध्दा जवाफ आयो–अन्तैबाट उखेलेर ल्याएका रुखहरु सारिएको । यहाँपनि हटाउनुपर्ने रुखहरुलाई कुनै विधिबाट अन्तै खाली ठाउँमा लगेर सार्नेबारेमा सोंच्न सकिन्छ । अर्कोकुरा चीनमा पनि अहिलेका भव्य आयोजनाहरु पूरा हुनु अघि रुख काट्ने, बस्ती सार्नेदेखि कैयन जमिनलाई एकीकृत गर्नुपरेको थियो । त्यहाँ हामीकहाँ जसरी पूर्वाग्रहमिश्रित विरोध भएन र हुँदैनन् पनि ।
निजगढ विमानस्थल बन्दा विकासमा दशकौं पछाडि परेको नेपालका लागि एउटा नयाँ युगको सुरुआत हुने निश्चित छ । त्यस्तै बुटवल–नारायण सडकको विस्तारले लाखौं लाख नागरिकलाई सुविस्ता हुन्छ र विकासको अनुभव यहीँ पुस्ताले गर्न सक्छ । ती क्षेत्रमा हुने विकासको सिको देशैभरि हुँदै जान्छ र त्यो नै समृद्धि हो । विकास गर्ने परिकल्पना गरेदेखि नै विरोधको र असहयोगीको सामना गरिरहनुपर्दासम्म देश समृद्ध बन्न सक्तैन । चीनबाट सिक्ने एउटा पाठ सिक्नैपर्छ–विरोधसँग डराएर पछि हट्ने होइन, भविष्यका पुस्तालाई केही चमत्कार देखाउनतिर लाग । निजगढ हास् वा सडक विस्तार, कालीगण्डी डाइभर्सन होस् वा तिनाउ–दानव करिडोर, बुटवलको तिनाउ जलपर्यटन, बुटवल रामापिथेकश जिओलोजिकल पार्क होस् वा सैनामैनाको लामीरह बहुउद्देश्यीय जलासययुक्त पार्कको परिकल्पना साकार पार्नु नै यो पुस्ताको मुख्य कार्यभार बन्नुपर्छ ।
चीनका सफा र चौडा सडकहरु, रुखबाट पात खस्दासाथ सोहोरेर जम्मा पार्ने मिहिनेती मानिसहरु, हँसिला, अनुशासित, जवाफदेही र काममै मस्त चिनियाँहरु देखेर हामीसँगै जानुभएको विश्लेषक ऋषि आजाद र प्राध्यापक बालकृष्ण भट्टराईले भन्दै हुनुहुन्थ्यो– यत्रो जनसंख्या, यस्तो व्यवस्थापन, यो खालको कानून पालना र यो विकास त यो अति अचाक्ली नै भयो । आजाद सरको पहिलो विदेश भ्रमण थियो भने भट्टराई सर अष्ट्रेलिया र अमेरिका पुगेर आउनुभएको थियो । ती देशभन्दा पनि औधी राम्रो लागेको उहाँको टिप्पणी थियो । अमेरिका पुगेर आउनुभएको आदरणीय अर्जुन ज्ञवाली दाइले पनि चाइनाको विकासलाई अदभूद् चमत्कार मान्नुभयो ।
चाइनाको महत्वपूर्ण सहरहरु मध्येमा छेन्दु प्रामुख रहेछ । त्यहाँका विभिन्न क्षेत्रहरुको भ्रमणपछि नदीको डाइभर्सन गरिएको क्षेत्रमा पुग्यौं । त्यहाँ झण्डै एक हजार चार सय वर्ष पुरानो नदी डाइभर्सनको ऐतिहासिक क्षेत्र रहेछ । त्यो मानवनिर्मित वैभव देख्दा वाव, वाव नभन्ने सायदै कोही होला । जलपर्यटनमार्फत पूरै दिन एक ठाउँमा भुलाउन सक्नेगरी संरचनाहरु निर्माण भएका रहेछन् । यो देख्दा बुटवलको तिनाउ नदी र यहाँ मिसाउन खोजिएको कालिगण्डीका बारेमा हामीहरुले चर्चा ग¥यौँ । हामी चारजना पत्रकारहरु (भरत केसी, विष्णु घिमिरे, प्रदीप आचार्य र म,अमृत गिरी) लाई हरियाली, सडक, सरसफाइ र नदीको सदुपयोग देखेर यता हाम्रोमा हुने विकासविरोधी कुराहरुले पिरोल्यो ।
सिङ्गो रुपन्देहीको गौरवका रुपमा रहेको तिनाउ नदीमा कालिगण्डकीको केही पानी सुरुङमार्फत खसाउने भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव, पूर्वअर्थमन्त्री तथा रुपन्देहीका सांसद विष्णु पौडेलले परिकल्पना सुनाउँदा विपक्षीले खिसिटिउरी गर्थे । कैयौं वर्षपहिले माननीय पौडेलले अगाडि सारेका ती योजनाहरु अहिले अनिवार्य आवश्यकताजस्तो बन्दै गइरहेका छन् । सोंचलाई परिकल्पनामा मात्रै सिमित राख्नै हुन्न तुरुन्तै काममा लागिहाल्नुपर्छ भनेरै यसक्षेत्रमा विकासका नौला र अनकुरणीय कामहरु अगाडि बढेका हुन् ।
उनको त्यो साकार हुँदै गइरहेको परिकल्पना र बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले तिनाउमा जलपर्यटन बनाउने, पारी बुटवल (पुरानो बटौली) लाई सांस्कृतिक सहरका रुपमा विकास गर्ने र त्यसलाई जितगढी, रामापिथेकश क्षेत्र, जिओलोजिकल पार्क क्षेत्रमा जोड्ने भन्दै गरेको साकार हुने अर्को महत्वपूर्ण परिकल्पना बुटवल चिनाउने, चिनाउने, पर्यटक टिकाउने र सिङ्गो रुपन्देहीले आर्थिक लाभ लिन सक्ने निश्चित छ । आदरणीय नेताहरुको परिकल्पनालाई साकार पार्नतिर लाग्दा नै समृद्धिको असली रुप यहीँ हुने निश्चित छ ।
पर्या पर्यटनका सम्भावना
बुटवलमा हारियाली क्षेत्र ५३ प्रतिशतभन्दा माथि छ । यो मुलुकका कुनै पनि उपमहानगरको भन्दा धेरै हो । तर, विडम्बना यहाँको जमिनमुनिको पानीको सतह ज्यादै न्यून छ । पानीको यहीँ सतहलाई सन्तुलनमा ल्याउन र हरियालीलाई हिउँदमा पनि उस्तै बनाउन यस वरपरका सामुदायिक वनहरुमा पानीका पोखरीहरु खनिएका छन् ।
बुटवल उप–महानगरपालिकाले सुरु गरेको यो कार्यक्रमलाई प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले विस्तार गर्दै प्रदेशभरि पु¥याएको छ । जितगढीलाई केन्द्रमा राखेर नुवाकोट, हिलपार्क, वसन्तपुर र यी क्षेत्रमा पर्ने सामुदायिक वनहरुमा पर्या पर्यटनको विकास गर्न सकिन्छ । यहाँको भौगर्भिक अवस्थितिलाई सुन्दर पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने कुरा चिनमा गरिएका पर्या पर्यटनका कामले पनि विश्वस्त बनायो । हामी जहाँ पुगेका थियौं त्यहाँ पर्या पर्यटन अर्थात् जियोपार्कका सम्बन्धमा पहिलो अन्तर्राष्ट्रिय सम्मेलन भएको रहेछ ।
चीनमा स्न २००४ को जुन २२ तरिखको दिन सम्पन्न भएको जियोपार्क सम्बन्धित पहिलो अन्तर्राष्ट्रिय सम्मेलनको अवधारणा नेपालसँग धेरै मेल खानेरहेछ । सैनामैना नगरपालिकाले वडा नं. ३ स्थित गंगानगरमा बनाउन लागेको लामीरह बहुउद्देश्यीय जलासययुक्त पार्क मुलुककै नमुना जलपर्यटनका रुपमा विकास हुन सक्ने सम्भावना देखियो ।
त्रिभुवन विश्वविद्यालयमा भूगर्भ विभागमा उप–प्राध्यापक डा.रञ्जनकुमार दाहालका अनुसार चिनको उक्त जियोपार्क सम्मेलनको प्रमुख अवधारणा पृथ्वी र यसको स्रोतहरुलाई मानवहरुको उत्तम जिवकोपार्जनको निम्ति सुरक्षित र संरक्षित उपयोग नै हो । हालको नवलपरासी पश्चिमको दाउन्ने पहाड र कपिलवस्तुको धानखोलामा रहेको पहाडका बीचको तीन जिल्ला (नवलपरासी, रुपन्देही र कपिलवस्तु) मा जियोपार्कको अथाह सम्भावना रहेको छ ।
अर्का भूगर्वशास्त्री डा.ई.खेटराज दाहालले यसक्षेत्रको पर्यावरण बचाउन र तिनाउ नदीको सभ्यतालाई जोगाउनका लागि पनि पर्यापर्यटन अर्थात् जियोपार्कको अवधारणालाई साकार पार्नुपर्ने बताउनुहुन्छ । विष्णुप्रसाद पौडेलले अगाडि सारेको योजना र बुटवलले अगाडि सारेको नीति तथा कार्यक्रममा पर्या पर्यटनलाई समेट्ने काम भएको तर त्यसलाई कार्यान्वयमा ढिलाई गर्नै नहुने दाहालको भनाइ छ ।
जियोपार्क अवधारणाले विकासका गतिबिधीहरु जस्तै पर्यावरणीय पर्यटन अनि सिल्प र घरेलु उद्योगहरुलाई प्रोत्साहित गर्नु रहेको छ । जियोपार्क सम्बन्धित पहिलो अवधारणा पनि चिनमै भएको रहेछ । सन् १९९७ मा बेइजिङमा भएको अन्तर्राष्ट्रिय भूगर्व विज्ञान सम्मेलनमा प्रस्तुत अवधारणामा पनि नेपालसँग मिल्ने धेरै विषय रहेछन् । युनेस्कोले पनि नेपालमा अथाह सम्भावना रहेको कुरा धेरैपहिले देखि नै बताउँदै आएको छ ।
जियोपार्क राष्ट्रिय निकुञ्ज जस्तो होइन, यसमा कुनै पनि क्षेत्रको भौगर्भिक स्रोतहरुलाई त्यस क्षेत्रको बिकासको लागि परिचालन गर्न सकिन्छ । यस अर्थमा हामी स्थानीय विकासको लागि खानी खोल्नेदेखि लिएर फरकिला सडक अनि आधुनिक विकासका सम्पूर्ण कामहरु गर्न सकिने रहेछ ।
पूर्वाधार विकास पहिलो काम
आवश्यक पूर्वाधारहरु पनि विकास गर्न त्यतिकै जरुरी छ । जस्तै, जियोपार्क क्षेत्रमा पुग्न कम्तीमा दुईलेनको सुविधा सम्पन्न सडक, बिजुली, संचार, सुरक्षा आदिको समुचित व्यवस्था हुनु पर्दछ । त्यससँगै निजीक्षेत्रको सहभागितामा जियोपार्क भित्रको प्रमुख क्षेत्रहरुमा केबुलकार, छोटो दूरीको रेलहरु र नदीहरुको क्षेत्र भएमा डुङ्गाहरु निर्माण तथा सञ्चालन गर्न पनि सकिन्छ । विडम्बना बुटवलमा बसन्तपुर र नुवाकोटसम्म केबलकार बनाउने कामको अध्ययन हुँदा नै विरोध गर्ने मानसिकता हामीकहाँ छ ।
निजगढमा विकास रोक्न भइरहेको चलखेल र रुखको पोथ्रो देखाउँदै देशैभरि हुने अवरोधलाई चिर्नका लागि पनि आधुनिक विकासका कार्यहरुलाइ आत्मसात् गरेको पर्या पर्यटनसहितको जियोपार्क अवधारणालाई नेपालले पनि आत्मसात् गर्न जरुरी छ । नेपालको भूगर्भिक अवस्थितिलाई सधैँ विकास निर्माणको नकरात्मक सूचकको रुपमा लिने गरेको हाम्रो परम्परागत इन्जिनियरिङ सोचलाई परिमार्जित गर्न आवश्यक छ । भू–पर्यावरण र भू–विभिन्नताको सही सदुपयोग गर्दै समृद्ध नेपाल, सुखी नेपालीको संकल्प साकार पारौं ।
आधुनिक चीन : पाँच दशकमा कायापलट
गणतन्त्र चीन ५००० वर्षभन्दा लामो सभ्यता र इतिहास भएको राष्ट्र हो । पछिल्लो झण्डै पाँच दशकमा चीनको कायापलट हुनेगरी विकास भएको छ । विश्वका अनेकौँ सभ्यताहरू मध्ये चीनबाट धेरै प्रचलनको थालनी भएको पाइन्छ । विश्व प्रख्यात दार्शनिकहरू कन्फुसियस र लाओत्से चिनियाँ पुत्रहरू हुन् । सन् १९११ मा डा. सन यात् सेनले प्रजातान्त्रिक आन्दोलनबाट पुरानो राजतन्त्रात्मक व्यवस्थालाई विस्थापित गरी आधुनिक चिनको जग बसालेका थिए । यद्यपि त्यसयता पनि धेरै किसिमका बाह्य एवं आन्तरिक द्वन्द्व, युद्ध र विखण्डनबाट देश गुज्रेकोले विकासमा अगाडि बढ्न सकेन । दोस्रो विश्वयुद्धको समाप्तिसँगै सन् १९४९ मा माओस्से तुङले रेड आर्मीको सहयोगमा एकीकृत नयाँ चीन स्थापना गरे । सन् १९४९ देखि १९७६ सम्म कम्युनिष्ट राष्ट्रको रूपमा माओले चीनलाई हाँके । सहकारीहरूलाई जग्गाहरू वितरण गरियो र सबै नागरिकले त्यै मार्फत काम गर्ने र उत्पादनमा राज्यलाई दिनुपर्ने कर कटाई बाँकी संलग्न परिवारहरूलाई बराबर बाँडी जीविकोपार्जन गर्ने नीति लागू भयो । तत्कालीन सोभियत संघले औद्योगिकीकरणमा ठूलो सहयोग गरेता पनि सिर्जनशीलता र प्रतिस्पर्धाको अभावमा उत्पादकत्व बढेनस समान तर गरिबीको अवस्थामा चीन गुज्रियो । यो वर्ष चीनले गरिबीलाई पूरै अन्त्य गर्दै सबै नागरिक सम्पन्न भएको घोषणा गर्ने भनिसकेको छ । पहिले सांस्कृतिक क्रान्तिका नाममा भएका मुल्य मान्यता, इतिहास र विपक्षी मास्ने कार्य भए पनि राज्यशक्ति र कम्युनिष्ट पाटि, चाइनालाई बलियो पार्ने काम भने भयो । हालका राष्ट्रपति सिचिनफिङको नेतृत्वमा अहिले चीन विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको र सम्पन्न मुलुकका रुपमा अगाडि बढिरहेको छ । यो नेपालको मित्र राष्ट्र हो । मित्रराष्ट्रबाट हामीले सिक्नुपर्ने काममा संवैधानिक अधिकार र हकको सट्टा नागरिक कर्तव्यमा जोड दिनु नै हो । हामीले अरुले नै काम गरिदेओस् र आफूले गफ लगाएर बस्न पाइयोस भन्दै उल्टै आलोचना गरेर समय खेर फाल्ने बानीको अन्त्य गर्नुपर्ने छ ।